नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र संख्या पुगेमा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने स्थान दिएको बताए।पार्टीभित्र यसको पटकपटक प्रयोग भएको र नेता परिवर्तन समेत भएको उदाहरण रहेको विचार व्यक्त गरे। देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्ने र नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्ने नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।
