पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घन्टाभित्र सैन्य आक्रमण गर्नसक्ने दाबी गरेको छ। जम्मू-कश्मीरको पहलगाममा वैशाख ९ गते भएको आतंकवादी हमलामा पाकिस्तानको हात रहेको भारतको आरोपपछि दुई देशबीच तनाव चर्किएको छ।
पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जालमार्फत जारी गरेको भिडिओ सन्देशमा भने, “आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको विश्वसनीय गुप्तचर जानकारी प्राप्त भएको छ।” यद्यपि, उनले यो दाबीलाई पुष्टि गर्ने कुनै आधार सार्वजनिक गरेका छैनन्। तरारले कुनै पनि सैन्य कारबाही भए त्यसको कडा जवाफ दिने र त्यसको सम्पूर्ण जिम्मेवारी भारतको हुने चेतावनी दिए।
