ललितपुर,नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा नम्बर १३ कार्यसमितिले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न दल परित्याग गर्दै दुई दर्जनभन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा राप्रपा नेपालबाट वडा अध्यक्षका उम्मेदवार बनेका सचिन केसी, स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवार बनेका ईश्वर बिष्ट, नेकपा एमालेका पूर्व इकाई सचिव युगल केसी लगायतले कांग्रेस रोजेका हुन्। साथै, स्थानीय तहमा वडा सदस्यका उम्मेदवार रहेका हरिहर शर्मा घिमिरे पनि कांग्रेसमा प्रवेश गरेका छन्।
त्यसैगरी समाजसेवी आयुषमान केसीको नेतृत्वमा मिलन केसी, अमन केसी, अनुप न्यौपाने, सुभाष बास्कोटा, निर्मल थापा मगर लगायत एक दर्जन युवा पनि कांग्रेसमा समाहित भएका छन्।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदय शमशेर राणा, बागमती प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन लगायतका नेताहरूले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कांग्रेस प्रवेशपछि बोल्दै सचिन केसीले भदौ २३ र २४ गतेपछिको राष्ट्रिय राजनीतिक परिवर्तनको पक्षमा कांग्रेस दृढ रूपमा उभिएको बताए। देशलाई स्थिरता र सही दिशामा लैजान तथा नयाँ पुस्ताको आकांक्षा अनुसार परिवर्तन गर्न कांग्रेस नै सक्षम शक्ति भएकाले आफूले पार्टी रोजेको उनको भनाइ थियो।
त्यस्तै, एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका युगल केसीले एमाले पुरानै सोच र कार्यशैलीमा अल्झिएको तर कांग्रेस भने समयअनुसार सुधार र रूपान्तरणको बाटोमा अघि बढेको महसुस गरेपछि आफू प्रभावित भई कांग्रेसमा आएको बताए।
