काठमाडौं, जीवनका लागि गीता ज्ञान अभियान,नेपाल ( Gita4Life Campaign, Nepal) को आयोजनामा सञ्चालित गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको फाइनलमा १३ जना प्रतियोगी छनौट भएका छन् ।
यही असार १५ गते सम्म आवेदन दिएका १०४ जना प्रतियोगीहरुबीच असार १९ गते देखि असार २१ गते सम्म पहिलो चरणको छनौट कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको यस कार्यक्रमका आयोजक सदस्य एवम् निर्णायक मण्डलका सदस्य आचार्य देवेन्द्र घिमिरेले बताउनुभयो ।
प्रतियोगिताको पहिलो छनौट चरणको विषय ‘शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता’ रहेको थियो भने अन्तिम चरणको लागि भने ‘उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन’ भन्ने विषय रहेको छ । अन्तिम चरणको प्रतियोगिता यही असार २७ गते जुम मार्फत सञ्चालन हुने आयोजकले बताउनुभयो।

नेपाली भाषामा हुने गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलामा आयोजकले आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरेको छ । प्रतियोगितामा प्रथम पुरुस्कार नेपाली रु २० हजार, द्वितीय पुरस्कार नेपाली रु १५ हजार, तृतीय पुरस्कार नेपाली १० हजार र सान्त्वना पुरस्कार नेपाली रु ५ हजारको प्रबन्ध गरिएको आयोजकले घोषणा गर्नुभएको छ ।
यस छनोट चरण प्रतियोगिताको निर्णायक मण्डलमा विद्वान व्यक्तित्व आचार्य देवेन्द्र घिमिरे गीता फर लाइफका अन्तर्राष्ट्रिय संयोजक विद्वान व्यक्तित्व डाक्टर दीर्घराज जोशी र गीता फर लाइफ गण्डकी संयोजक विद्वान व्यक्तित्व दुर्गा न्यौपाने रहनुभएको थियो ।
यस कार्यक्रमको पुरस्कारका लागि अध्यात्मिक व्यक्तित्व तथा गीता फर लाइफका सदस्य गोकुल थापा र आध्यात्मिक व्यक्तित्व राकेश अग्रवालले आर्थिक सहयोग गर्नुभएको छ । त्यसैगरी यस कार्यक्रमलाई प्रविधिमैत्री बनाउनका लागि डाक्टर एलिना बस्नेतले निःशुल्क रुपमा जुम सहयोग गर्नुभएको छ। त्यसैगरी यस कार्यक्रमलाई सफल बनाउन धर्मप्रसाद पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । यस कार्यक्रमलाई गीता फर लाइफका राष्ट्रिय सहसंयोजक सुदिप पौडेल र आध्यात्मिक व्यक्तित्व डाक्टर नम्रता पाण्डेले सञ्चालन गर्नुभएको थियो।

गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको छनौट चरणको कार्यक्रम यस गीता फर लाइफ अभियानका वरिष्ठ सल्लाहकार डाक्टर गोविन्दशरण उपाध्यायको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो । त्यसैगरी यस कार्यक्रममा गीता फर लाइफका राष्ट्रिय संयोजक योगाचार्य सुरेन्द्र ओझा, गीता फर लाइफका संकल्पकर्ता डाक्टर हरिचन्द्र कमाली, समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व गोकुल थापा, अधिवक्ता सानुभाइ खड्का, विद्वान व्यक्तित्व डा.माला खरेल, गीता फर लाइफका मिडिया संयोजक सञ्चारकर्मी जनक महरा शिक्षक डम्बरबहादुर लुइटेल लगायतको योगदानपूर्ण उपस्थिति रहेको थियो।
गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलाको फाइनलमा छनौट प्रतियोगीहरुको नामावलीः
१. आँचल बसेल, कक्षा ७, वाग् गुरुकुलम् गौरीघाट काठमाडौँ ।
२. आयुषा सापकोटा, कक्षा १२, काठमाडौँ मोडेल कलेज ।
३. विनय श्री सापकोटा, कक्षा ९, महेश सन्यास गुरुकुलम् देवघाट तनहुँ ।
४. भावना जोशी, कक्षा ९, श्री महेन्द्रनगर मावि कञ्चनपुर ।
५. सुष्मा ढकाल, कक्षा ९, श्री गार्गी कन्या गुरुकुलम् देवघाट चितवन ।
६. हरि कण्डेल, शास्त्री परमानन्द संस्कृत विद्यापीठ देवघाट तनहुँ।
७. हिमानी ओझा, कक्षा ९, नन्दिनास एकेडेमी कैलाली ।
८. रिया जोशी, कक्षा ६, ग्लोबल एकेडेमी सेकेन्डरी स्कुल कञ्चनपुर ।
९. पर्शुराम भट्टराई, शास्त्री प्रथम वर्ष, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय काशी ।
१०. कर्मशिखा जोशी, कक्षा ६, श्रीमोहना मन्टेस्वरी एकेडेमी मावि कैलाली ।
११. दिना घिमिरे, कक्षा १०, तुलसी मेहर मेमोरियल सेकेन्डरी इङ्लिस स्कुल धनकुटा ।
१२. श्रीजी महर्जन, कक्षा ६, भक्ति वेदान्त पाठशाला बुढा निलकण्ठ काठमाडौँ ।
१३. गौरव अधिकारी, कक्षा १०, श्री केदारेश्वर वैदिक गुरुकुलम् पोखरा ।
