इन्दिरा निरौला
तिमी राजा थियौ,
जनताको ताकतले, सिंहासन छोड्न बाध्य बनायो।
तर सिंहासन गुमे पनि,
सत्ता मोह कहिल्यै मरेको रहेनछ।
जनताको करले अझै
तिमी नागार्जुनको सुरक्षा घेरामा छौ।
गणतन्त्रको छायाँमा,
तिम्रो गाडी सडकमा गुड्छ।
तर तिम्रै इसारामा,
शहर बल्छ, रगत बग्छ।
पुलिसको बन्दुक खोस्दै,
शासन चलाउने सपना देख्छन रैतीहरु।
जनताको घरमा आगो झोसेर
जिउदै मान्छे जलाउछन् ,
नारायणहिटीको झझल्को आउँछ,
तिमीलाई झनक्क रिस उठ्छ।
नन्दीभृङ्गीहरू भड्किन्छन्,
राज्यलाइ नै धम्क्याउँछन्।
तर समयको पाङ्ग्रा घुमिसक्यो,
त्यो पुरानो राजसभा भत्किसक्यो।
अब जनता तिम्रा पुर्खा जस्तै
झुकेर सलाम गर्ने छैनन्।
तिमी इतिहासका छायाँ मात्र हौ,
रगतले नुहाएर फर्कने सपना नदेख,
मरेको लास जिउँदो हुन्छ र
किनभने जनताको मनमा,
अब तिमी छैनौ, तिम्रो नाम छैन।
