सूर्योदय नगरपालिका-९ का ६१ वर्षीय मान बहादुर खड्का आर्थिक अभावका कारण लामो समयदेखि उपचार नपाएर पीडित थिए। यो विषय इलामका प्रदेश सांसद तथा पूर्व कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सम्सेर राईको ध्यानमा आयो। आफ्नै निर्वाचन क्षेत्रका नागरिक उपचार नपाएर दुःख भोगिरहेको थाहा पाएपछि सांसद राई स्वयं बिरामीको घर पुग्नुभयो।
बिरामीको अवस्था देखेर उहाँले नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मालाई जानकारी गराउनुभयो। सांसद डा. शर्माले खबर सुन्नासाथ मान बहादुर खड्कालाई काठमाडौं मेडिकल कलेज (KMC) ल्याउन आग्रह गर्दै निःशुल्क उपचारको व्यवस्था गरिदिने आश्वासन दिनुभयो। त्यसपछि सम्सेर राईको पहलमा बिरामीलाई काठमाडौं ल्याइएपछि हाल KMC मा उपचार प्रक्रिया सुरु भइसकेको छ।

डा. सुनिल शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उहाँले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहनु भएको छ।
विशेषगरी, डा. शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूलाई पार्टी नहेरी नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था मिलाउनुभएको छ। आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि काठमाडौं मेडिकल कलेजमा समेत यस्तै व्यवस्थाहरू गरिएको छ।
सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन्। उहाँले आफ्नो जीवन समाजसेवा र मानवताको निम्ति समर्पित गर्दै आउनुभएको छ। उहाँको यो उदार कार्यले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरूलाई आशाको दियो बाल्ने काम गरेको छ। यस्ता समाजसेवी पहलहरूले लाखौं नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु-याउँदै समाजमा सकारात्मक प्रभाव पारिरहेको छ
