धानमन्त्री केपी शर्मा ओलीले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को १६औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको बताउनुभयो । सरकारले शुल्क तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने र यसमा निजी क्षेत्रको पनि साथ लिने उहाँले स्पष्ट गर्नुभयो ।
“शिक्षा क्षेत्रमा तपाईँहरू लगानी गर्नुस् । नियम, कानुनबमोजिम सम्पत्तिको हकको प्रयोग गर्नुस् । यो उद्योग होइन । अत्यधिक मुनाफा ननिकाल्नुस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुस् । दक्ष र कुशल नागरिक उत्पादन गर्नुस् । लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन । सेवा दिनुस् तर तपाईँहरू जोगी पनि नहुनुस् ।”
