नेपालमा उत्पादन नहुँदा विभिन्न देशबाट आयात हुँदै आएको पुस्तकमा छपाईदेखि, फोटोकपी, ट्वाइलेट र टिस्यु पेपर अब ठुलो मात्रामा नेपालमै उत्पादन हुने भएको छ।
नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन पेपर खपत हुने तर उत्पादन नहुने समस्यालाई चिर्दै अब नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले नेपालमै खेर गैरहेका कच्चापदार्थ र जनशक्ति परिचालन गरी नेपालमै उच्च गुणस्तरका पेपर उत्पादन गर्ने भएको हो ।
व्यवसायी चन्द्र ढकालले नेतृत्व गरेकोआइएमई लगायतका समुहको झन्डै दुई अर्व लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित उद्योगले उत्पादन थालेसंगै अब पेपरमा बिदेशी कम्पनीको मुख ताक्ने अवस्थाको अन्त्य मात्र हुने छैन पेपर आयातका नाममा बार्षिक बाहिरिने अर्बौ रकम समेत देशमै रोकिनेछ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले हाम्रै गाउँ घर शहरमा खेर गैरहेका पुराना कागजलाई उपयोग गरेर हाल दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्नेछ निकट भविष्यमै त्यो क्षमता बढाएर दैनिक १५० मेट्रिक टन पु¥याउने लक्ष्य उद्योगले राखेको छ ।
हाल नेपालमा वार्षिक झण्डै डेढलाख मेट्रिक टन आयात हुँदै आएकोमा अब करिब ४० हजार मेट्रिक टन पेपर यहि उद्योगले मात्र उत्पादन गर्नेछ ।
उद्योगको स्थापनासंगै उद्योगमा करिव ४ सय जना भन्दा बढीले प्रत्यक्ष र हजारौँले अप्रत्यक्ष रुपमा स्वदेशमै रोजगारी पाएका छन् । उद्योगको परिकल्पना गर्नुभएका आइमी ग्रुपका अध्यक्ष चन्द्र ढकालले उद्योगले मुख्य गरेर बिदेशी आयात रोक्ने र नेपालमै ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनु भयो।
यस उद्योगले खर, पराल, काठ आदि पगालेर कागज बनाउदैन उद्योगले घर अफिसमा प्रयोग गरेर फालेका वा नष्ट गर्ने गरेका पेपर गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुनः नयाँ पेपर बनाएर फेरी बजारमा ल्याउने छ। यो खालको उद्योग सम्भवत नेपालमै पहिलो हो।
अहिलेसम्म हाम्रा घरअफिसमा प्रयोग भइसकेका त्यस्ता कागज जलाउने, खोलामा फाल्ने, फोहोरमा फाल्ने, मुसाले काट्नेआदि कारणबाट नष्ट भएका थिए ती पुनः रिसाइकलिङ भएर नयाँ कागज बन्न पाएका थिएनन । अब यस उद्योगले तिनको सदुपयोग गरी नयाँ पेपर बनाउनेछ।
त्यसैले यस उद्योग महत्व केवल एक उद्योग थपिनुसँग मात्रै सीमित छैन । स्वदेशकैै लागि स्वदेशमै उत्पादन हुनु, स्वदेशकै कच्चा पदार्थको प्रयोग हुनु, स्वदेशमै रोजगारी सिर्जना गर्नुले यसको महत्वलाई अझ प्रष्ट पारेको छ ।
दक्ष जनशक्ति उत्पादन, आयातलाई निरुत्साहन, ब्यापारघाटा कम गर्न सहयोग र मधेशमा महिला सशक्तिकरणमा समेत योगदान पु¥याइरहेको यो उद्योग मुलुकको आर्थिक विकासका लागि पनि कोसे ढुङ्गा बन्ने कुरामा कुनै दुईमत छैन ।

