काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिका कुनै पनि किसिमको युद्ध चाहन्छ भने, चाहे त्यो व्यापार युद्ध होस् वा अन्य, चीन अन्तिमसम्म लड्न तयार रहेको स्पष्ट पारेका छन्।
ट्रम्प प्रशासनले फेब्रुअरीमा नै चीनमाथि १० प्रतिशत कर लगाइसकेको थियो। एक महिना नबित्दै, फेरि सोही प्रतिशतको नयाँ कर लगाउने निर्णयले दुई देशबीचको व्यापार तनाव थप चर्किएको छ।
चीनले यसअघि नै लागूऔषध नियन्त्रणमा कडा कदम चालेको उल्लेख गर्दै प्रवक्ता जियानले २०१९ मै फेन्टानिललाई लागूऔषधको सूचीमा समावेश गरेको बताए। उनले अमेरिकालाई सुझाव दिँदै भने, “यदि उनीहरू साँच्चै फेन्टानिल समस्या समाधान गर्न चाहन्छन् भने, चीनसँग सहकार्य गर्नुपर्छ, न कि आरोप लगाएर दबाब सिर्जना गर्न।”
