काठमाडौँ , कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाह छन् । दिग्गज कलाकार निर शाहले किन शंख फुकिरहेका छन् । उनी एक्लैछन्, उनको वरिपरी कोहि छैन । उनले आफ्नो सुरमा मज्जैले शंख फुकिरहेका छन् । यो तस्बिर भर्खर सार्वजनिक भएको हो । नेपाली फिल्म क्षेत्रका पिता मानिने निर शाहले अभिनय गरेको नयाँ फिल्म परानको पोस्टरमा उनले शंख फुकेका हुन् । यो फिल्म दशै र तिहार पछाडी अर्थात कार्तिकको १४ गतेबाट रिलिज हुँदैछ । फिल्मको नाम नै परान छ, यो शिर्षकले के भन्न खोजिरहेको छ ? निर शाहले शंख फुकेका छन् र फिल्मको नाम परान छ, यसमा यि दुईकुराहरु कसरी जोडिएका छन् । यो बिषयमा दर्शकलाई अनुमान लगाउन गाह्रो परिरहेको छ ।
यसअघि अभिनेता महेश त्रिपाठीको अंगालोमा अभिनेत्री अञ्जना बराईली रहेको पोस्टर सार्वजनिक गरिएको थियो । जुन पोस्टर पनि रहस्यमय थियो । किनकी त्यो पोस्टरमा महेशको अनुहारमा खुसी छैन तर अन्जनाको अनुहार खुसी देखिन्थ्यो । अहिले फेरी निर शाहको यो पोस्टरले फिल्मबारे थप जिज्ञासा थपिदिएको छ । शंख फुकेको दृश्यले फिल्मको कथामा धर्म, संस्कृति वा कुनै परम्परागत रीतिरिवाजको महत्त्वपूर्ण स्थान हुन सक्ने सङ्केत दिन्छ। पोस्टरले नीर शाहको भूमिका र फिल्मको कथावस्तुबारे विभिन्न अड्कलबाजीहरू उब्जाएको छ। निर्माणपक्षले भने कथाबारे केही कुरा खुलाएको छैन। ‘परान’ को ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ भनेर लेखिएको छ। जसले फिल्मको मूल सन्देश एकअर्काको साथको महत्त्वलाई जोड दिएको आँकलन गर्न सकिन्छ।
यो फिल्ममा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको हुन सक्ने अनुमान गर्न सकिन्छ। नीर शाहजस्तो अनुभवी कलाकार केन्द्रीय भूमिकामा देखिनुले ‘परान’ एक सशक्त कथा र उत्कृष्ट अभिनय रहेको फिल्म हुने समेत अपेक्षा गर्न सकिन्छ।
