ट्रम्प प्रशासनले मंगलबारदेखि अमेरिका अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसा अन्तर्वार्ता प्रक्रिया स्थगन गरेको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, अमेरिकी विदेश मन्त्रालयले भिसा आवेदकहरूको सामाजिक सञ्जाल जाँच प्रणाली विस्तार गर्ने तयारी गरिरहेका बेला यस्तो निर्णय गरिएको हो।
यो निर्णयसँगै अन्तर्राष्ट्रिय विद्यार्थीहरू—विशेषगरी आगामी शैक्षिक सत्रका लागि तयारी गरिरहेका—धेरै युवाहरू प्रभावित हुनेछन्। सामाजिक सञ्जालमाथिको निगरानी कडा पार्ने अमेरिकी योजना अनुसार, अब भिसा आवेदकहरूले फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा आफ्नो गतिविधि सार्वजनिक रुपमा प्रस्तुत गर्नुपर्ने सम्भावना रहेको बताइएको छ।
प्रशासनको यस निर्णयप्रति अन्तर्राष्ट्रिय शैक्षिक संस्था र विद्यार्थी अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो कदमले अमेरिकी शिक्षा प्रणालीमा विविधता र पहुँचमा बाधा पुर्याउने चेतावनी दिएका छन्।
भविष्यमा भिसा प्रक्रियामा थप कडाइ आउने सङ्केतसहित, सम्बन्धित निकायहरूले स्थिति स्पष्ट नहुँदासम्म विद्यार्थीहरूलाई आधिकारिक जानकारीको पर्खाइ गर्न आग्रह गरेका छन्।
