काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २५औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा यस कार्यालयमा मिति २०८१।११।११ गते देखि सञ्चालन भएको ३५ कार्यदिन अवधिको आवासीय “ट्राफिक प्रशासन (जु.प्र.अ.) तालिम २५ औं समूह” को आज मिति २०८१/१२/२७ गते, यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बीच सम्पन्न भयो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिनुभयो । Nepal Police
