वि.सं. २०८१ चैत १८
ने.सं. ११४५ चिल्लाथ्व द्वितीया
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने साढे ५ महिनापछि आज केन्द्रीय बैठकमा सहभागी भई पार्टीको औपचारिक जिम्मेवारीमा फर्कनुभएको छ । आज पार्टीको केन्द्रीय कार्यालयमा दुईवटा केन्द्रीय समितिको बैठक सम्पन्न भयो । पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाई निरन्तर अगाडि बढाउन साथसहयोग पुर्याउनुहुने सम्पूर्ण पार्टी सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । बैठकले पार्टीको चुनौतिपूर्ण समयमा अभिभावकत्व प्रदान गरी पार्टीलाई दोर्याउनुभएकोमा कार्यवाहक सभापति अर्यालप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
केन्द्रीय समितिको दोश्रो बैठक पार्टी सभापति रवि लामिछानेको सभापतित्व सम्पन्न भयो । उक्त बैठकमा पार्टी सभापति लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति सुनाउनुहुँदै पार्टी जीवनको सङ्घर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गर्नु भएको सहयोग प्रति आभार व्यक्त गर्नुभयो । त्यसैगरी आजको दिनमा राज्य सत्ताद्वारा लादिएको पीडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको उल्लेख गर्दै नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेकोप्रति सचेत गराउनुभयो । र यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेकोले अब पार्टीको संरचनामा काम गर्न पार्टी सदस्यहरुलाई आव्हान गर्नुभयो ।
बैठकमा गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौ। गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं । यो सबैको लागि सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान सबैलाई तयार रहनुपर्नेमा पनि जोड दिइएको थियो ।
अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो । “मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।“ बैठकमा सभापति लामिछानेले भन्नुभयो ।
पार्टीको तर्फबाट राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरिएको छ । त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।
पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न पार्टी सभापतिबाट निर्देश भएको छ । र, महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पार्टीमा पेश गर्न निर्देशन दिने निर्णय भयो । राष्ट्रिय भेलामा घोषणा गरेको “जनताको कुरा सुन्ने यात्रा, जनयात्रा”को शुभारम्भ यही २०८१ चैत्र २३ गते चितवनबाट गर्ने तय गरिएको छ ।
आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्ण प्रसाद लम्साल र कृष्ण कुमारी अधिकारीलाई मनोनयन गरिएको छ ।
बैठकमा प्रतिद्वन्द्वी दलहरुले रास्वपा विरुद्ध निषेधको राजनीति गरेको दोहोर्याउँदै ८४ लाई जनहितका पक्षमा निर्णायक अवसर बनाउन प्रेरित गर्दै एकदमै उर्जाकासाथ काम गरी मुश्किल समयमा एकढिक्का भएर अगाडि बढ्न अनिवार्य रहेकोमा जोड दिइयो ।
बैठकले इस्लाम धर्मावलम्बीहरुको महान चाड ईद अल फित्रको पावन अवसरमा सम्पूर्ण इस्लाम आमाबुवा, दाजुभाई तथा दिदीभाईहरुलाई हार्दिक शुभकामना व्यक्त गरियो ।
मनिष झा
प्रवक्ता (कार्यवाहक)
