अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा आएदेखि नै आफ्नो देशबाट बाहिरी देशका मानिसलाई निष्कासन गर्ने अभियानमा तिब्र रूपमा जुटेका छन् । अमेरिकामा गैरकानुनी रुपमा बस्ने मानिसहरु विरुद्ध अभियान सुरु गरिसकेका उनले फेरी नयाँ कदम चालेका छन् ।
यस्तो अवस्थामा ट्रम्पले भारत र नेपाललगायत विश्वका सबै देशका हजारौं मानिसलाई पक्राउ गरी आफ्नो देशमा फिर्ता पठाइसकेका छन् । उनको सरकारले ‘अमेरिकालाई फेरि महान् बनाउने’ रणनीतिका लागि यी सबै कार्यहरू आवश्यक रहेको बताउँदै आएको छ। उनी भन्छन्, ‘बाहिरी देशका मानिसले अमेरिकीहरूको अधिकार खोसेको छ, जसका कारण अमेरिकामा अमेरिकीका लागि रोजगारीको अवसर घटेको छ ।’
यसैबिच, पछिल्लो निर्णयमा अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका लाखौं मानिसबाट कानुनी सुरक्षा खोस्ने बताएको छ। यसबाट करिब ५ लाख ३२ हजार मानिस प्रभावित हुने र एक महिनामा देश छाड्नु पर्ने हुन पनि सक्छ । यो निर्णय अक्टोबर २०२२ पछि अमेरिका आएकाहरूको हकमा लागू हुनेछ।
यी मानिसहरू आर्थिक सहयोगीहरू लिएर आएका थिए र उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा बस्न र काम गर्न अनुमतिसमेत दिइएको थियो। होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले भने, ‘अब यी व्यक्तिहरूको कानूनी स्थिति अप्रिल २४ मा समाप्त हुनेछ वा संघीय दर्तामा यो सूचना प्रकाशित भएको ३० दिन पछि उनीहरूले अमेरिका छोड्नु पर्नेछ।’
