काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ। फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले नेपाल भ्रमणको विशेषता र आकर्षणबारे प्रकाश पार्दै फ्रान्सेली पर्यटकहरूलाई नेपाल घुम्न आउन आग्रह गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक खेलकुद र आध्यात्मिक अनुभवको अनुपम संगम भएको उल्लेख गर्नुभयो। उहाँले नेपाल सरकारद्वारा लागू गरिएका पर्यटकीय प्रवद्र्धन नीतिहरूबारे जानकारी दिँदै नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा परिचय गराउनुभयो।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक पृष्ठभूमि उजागर गर्दै नेपाल भ्रमण गर्ने फ्रान्सेली पर्यटकहरूले सधैं सकारात्मक अनुभव लिने विश्वास व्यक्त गर्नुभयो।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपाल भ्रमणका लागि उपलब्ध विशेष प्याकेजबारे जानकारी दिँदै नेपाल पर्यटन प्रवद्र्धनका लागि चालेका विभिन्न पहलमाथि प्रकाश पार्नुभयो।
कार्यक्रममा प्रसिद्ध फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरिएको थियो। सम्मान ग्रहणपछि उहाँले नेपालसँगको विशेष सम्बन्ध र यहाँका सुखद अनुभवबारे आफ्ना विचार व्यक्त गर्नुभयो।
‘नेपाल इभिनिङ’ कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहेको थियो।
