मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपाल र भारतबीच सद्भाव र आत्मीयतापूर्ण सम्बन्ध रहेको बताउनुभएको छ ।
भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा सोमबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले दुई देशबीच कूटनीतिक, धार्मिक, भाषिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको बताउनुभयो । उहाँले भारतको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको विश्वास व्यक्त गर्नुभयो । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूको महत्वपूर्ण योगदान रहेको भन्दै नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीनाले नेपालमा पूर्वाधार विकास निर्माण, व्यापारलगायत विभिन्न क्षेत्रमा भारतीय सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
