अन्तर्राष्ट्रिय लोकतान्त्रिक संघ (IDU) विश्वभरका मध्यम-दक्षिणपन्थी राजनीतिक संगठनहरूको एक विश्वव्यापी गठबन्धन हो, जसले नेताहरूबीच सहकार्य र साझा आदर्शहरूलाई प्रोत्साहन गर्दछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (RPP) नेपाल IDU को पूर्ण सदस्य हो, जसको अध्यक्षता क्यानडाका २२औँ प्रधानमन्त्री स्टेफेन हार्परले गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष माननीय राजेन्द्र लिङ्देनद्वारा रिपब्लिकन नेशनल कमिटी (RNC) का अध्यक्ष माइकललाई लेखिएको पत्र युवा नेता हिकमत जङ्ग कार्कीमार्फत बुझाइएको छ। उक्त पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन र रिपब्लिकन पार्टीको विजयको लागि शुभकामना दिइएको छ। यसको प्रत्युत्तरमा, रिपब्लिकन पार्टीका अध्यक्षले आभार व्यक्त गर्दै नेपालका मित्रलाई भेटेर अत्यन्त खुशी व्यक्त गरेका छन् र भविष्यमा राप्रपा संग समन्वय गर्ने अपेक्षासमेत व्यक्त गरेका छन्।

हिकमत जङ्ग कार्की अन्तर्राष्ट्रिय युवा लोकतान्त्रिक संघ को उपाध्यक्षमा निर्वाचित भएका हून । हाल यो कार्यक्रम वाशिंगटन डीसीमा सञ्चालन भइरहेको छ, जहाँ कार्कीले अमेरिकी राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज, कंग्रेस सदस्य, सेनेटरहरू, र विभिन्न देशका प्रधानमन्त्रीहरूसँग भेटघाट र छलफल गरेका छन्। IDU मञ्चमा नेपालको र RPP को प्रतिनिधित्व गर्नु नेपालका राजनीतिक दृष्टिकोण प्रस्तुत गर्न, अन्तर्राष्ट्रिय सम्बन्धहरू सुदृढ गर्न र पार्टीको लक्ष्यलाई बलियो बनाउन वैश्विक अनुभवहरू ल्याउन महत्त्वपूर्ण अवसर हो।
यस अनुभवले नेपालको लोकतान्त्रिक र सांस्कृतिक मूल्यहरूको समर्थनका लागि अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्न सहयोग पुर्याउनुका साथै, नेपाललाई विश्व राजनीतिक मञ्चमा थप सशक्त रूपमा प्रस्तुत गर्न भूमिका खेल्छ।
