न्यायलयका न्याय मुर्तिहरू खुद्रा पसलका साहु बनेपछि,
विश्वासको चौघेरा नाघेर जिउदो मान्छे आत्मनिर्भर समय साची राखेर
च्यातिएको झोलामा एक जोर मैला लुगा बोकी
फेरि रुदै देश छोड्न भनी तयार छ एक निरही नागरिक।
भुगोलको सिमाले दिएको देशको नाम
र देशको नामले दिएको नागरिकताको खोस्टोले मात्रै न्याय नपाइदो रैछ।
नभरिदोरहेछ छालाको चोयाले बनेको भकारी
निभ्दै गएको अदालतको दियो।
बल्झिदै गएको पिडितको आलो घाउ।
डुब्दै गएको आखाँको घाम
च्यातिदै गएको बैँशको फरिया
सियोले टाल्दै कैयौँ हिउँद काटेको यो न्यायको पगरी
हरेक दिन कचौरा थापेर मागेको न्यायको भिख कहिँ कतै नपाए पछि।
जिवनको गोरेटेमा कतै न्यायको बिम्ब नभेटेपछि
मेरो खाए खेलेको थातथलो छोडेर
बेदनाको घाँटीमा न्यायको नाम खोज्न भनि
तयार भएकी हु म यो देश छोड्न ।
जहाँ मान्छेले मान्छेलाई मान्छे ठानोस्।
न्याय नाङ्गो नहोस्,न्यायाधीश उदाङगो नहोस् अदालत जिउदो होस्
हो म त्यहीँ दुनियाँमा जान चाहान्छु।
आँशुको मुहानलाई पसिनाको सागरमा मिसाएर
हिउँदको हुम्लाको हिउँझै सेतो होस् सधैं सत्यको बाटो
हो म त्यही संसारमा जान चाहान्छु।
जहाँ मान्छेले मान्छेलाई मान्छे ठानोस्।
उल्लेखित कविताको पात्र बनेर म स्वयम् उभिएकी छु
अहिले मलाई जिवनमा कहिले नदुखेको
स्वाभीमान् र राष्ट्रियताले दुखाइरहेछ।
झोलाको एउटा कुनामा राष्ट्रिय झण्डा
र अर्को कुनामा अलिकति देशको माटो राखेर,
यो भ्रष्टहरुको परेड खेल्ने मैदान बनेको मेरो देश छोड्न विवश छु।
मलाई माफ गर्नु मेरी आमा
म मेरो साल गाडेको माटोमा जिउन नसक्ने भए।
रावणको न्यायलयले न्याय सम्पादन गर्ने यो देशमा म कसरी बस्नु।
बिन्ती छ आमा म यो देश छोडेर यस्तो संसारमा जादैछु।
जहाँ मान्छेले मान्छेलाई मान्छे ठानोस्।
