ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको “Traffic Police Mirror 2024” को आज बिमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको बिमोचन गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको Traffic Police Mirror को प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको समेत बताउनुभयो ।
शुभकामना मन्तव्यको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरु देखाउने ऐनाको रुपमा मिरर प्रकाशन भएको र यो मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताउनु भयो ।
विमोचन कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
त्यस्तै काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधी Mirror मा प्रष्ट पारिएको उल्लेख गर्नु भयो । उहाँले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन Mirror प्रकाशन गरिएको बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले पहिलो पटक लिखित दस्तावेजको रुपमा प्रकाशन भएको Traffic Police Mirror ले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यलाई छर्लङ्ग पारेको बताउनु भयो । कार्यक्रममा Traffic Police Mirror प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्यबैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रद्धि ट्रेडिङ लगायतका संघ-संस्थाहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरिएको थियो ।
रामशाहपथमा सम्पन्न भएको कार्यक्रममा अवकाश प्राप्त प्रहरी अधिकृत , यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरू, यातायात व्यवसायी, यातायात मजदुर , प्रहरी वरिष्ठ अधिकृत तथा जुनियर अधिकृतहरु, सकल दर्जाका प्रहरी कर्मचारीहरुका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
