काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले बजेट ल्याउनेक्रममा सत्तारुढ दलसँग छलफल नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् ।
उनले भने- ‘अर्थमन्त्रीलाई बजेट निर्माणका बेला निकै व्यस्तता हुन्छ । निश्चित समयभित्र यो काम गर्नुपर्छ । तर, उहाँले सत्तापक्षीय राजनीतिक दलसँग सुझाव लिन भ्याउनुभएन । यदि भ्याउनुभएको भए बजेट अझ राम्रो आउँथ्यो। सल्लाह लिन पाएको भए राम्रो हुन्थ्यो।’
उनले आगामी आर्थिक वर्षका लागि तुलनात्मकरुपमा सङ्क्षिप्त र सन्तुलित बजेट ल्याएको बताउदै पौडेलले बजेट उच्च आकाङ्क्षी बजेट भएको बताए । उनले राजस्व सङ्कलन, ऋण तथा अनुदान परिचालनका लागि उच्च आकाङ्क्षा राखिएको टिप्पणी गरेका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाउने उल्लेख भएकामा सो अवधारणालाई सरकारले थप स्पष्ट पार्नुपर्ने पौडेलले बताए ।
