भक्तपुर जिल्लामा रहेका माध्यमिक विद्यालयहरूको सहभागितामा शनिवार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लास्टिक मुक्त वातावरण भन्ने मूल नारा सहित विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोट र नेपाल रेडक्रस सोसाइटी बाालकोट उप–शाखाले आयोजना गरेको हो । मेरीगोल्ड बोर्डिङ इङ्लिस स्कुल बालकोटको प्राङ्गणमा जुनियर रेडक्रस सर्कल मेरीगोल्ड स्कुलको आतिथ्यमा कार्यक्रम आयोजना भएको हो ।

यस प्रतियोगितामा भक्तपुर जिल्लाका ३५ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । स्वच्छ र स्वस्थ वातावरण निर्माणमा बिद्यार्थीको भूमिका शीर्षकामा प्रतियोगिता भएको हो । यस प्रतियोगितामा प्रथम स्थानमा नवरत्न इङ्लिस स्कुलबाट प्रकृति मानन्धर, द्धतिय स्थानमा नोबेल स्कुलका सबिन घिमिरे, तृतीय स्थानमा सुप्रिम एकेडमीकी युनिसा कार्की पुरस्कार जित्न सफल भएका हुन । त्यसै गरी नवरत्न इङ्लिस बोर्डिङ स्कुलकी छात्रा सारिका श्रेष्ठ र अरनिको माविकी छात्रा पल्लवी पाण्डेय सान्त्वना पुरस्कार हासिल गर्न सफल भएका थिए ।

यस कार्यक्रममा सुर्यविनायक नगरपालिकाकी उप–प्रमुख सरिता तिमसिना भट्टराई, शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटका अध्यक्ष रञ्जन खड्का, मेरीगोल्ड स्कुल बालकोटका संस्थापक अध्यक्ष उद्धव सिलवाल, मेरीगोल्ड स्कुल बालकोटका प्रिन्सिपल भुवनलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाालकोट उप–शाखाका सभापति दिवाकर सिलवाल, निर्णयका मण्डलका सदस्य वरिष्ठ पत्रकार तीर्थ कोइराला, डा. बमबहादुर थापा र समाजसेवी जनार्दन थापाले सहभागी विद्यार्थीको प्रतिभाको कदर गर्दै स्वच्छ र स्वस्थे वातावरण निर्माणमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहेको र सहभागी विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना सहित मनतब्य राख्नुभएको थियो । कार्यक्रममा सहभागी प्रमुख अतिथि र अतिथि ज्यूहरूले स्वर्गीय शेरबहादुर खड्काले बालकोटको विकासका लागि महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

यस कार्यक्रममा उप–प्रमुख सरिता तिमसिना भट्टराईले विकासका सारथि शेरबहादुर खड्का स्मृति ग्रन्थ २०७९ पुस्तकको विमोचन पनि गर्नुभएको थियो ।
