कैलाली- बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना अन्तर्गत बाल कल्याण सङ्घ टीकापुर द्वारा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र पालिकाहरू सँगको समन्वयमा आयोजना गरिएको सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकहरूलाई बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारले लागु गरेको विद्यालयमा बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण र पोषण कार्यक्रम अनुरूप शैक्षिक सत्रको सुरुवात सँगसँगै बालबालिकाहरूको स्वास्थ्य स्थिति र पोषणको अवस्था अनुगमनका लागि विद्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्न शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
बाल कल्याण सङ्घ टीकापुरले बाल स्पोन्सरसिप एवम् सहभागिता परियोजना टीकापुर नगरपालिकाको वडा नं. ६, ७, ८, ९, भजनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ७, ९, घोडाघोडी नगरपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८, १०, ११, १२ गौरीगंगा नगरपालिकाको वडा नं. १०, ११ र कैलारी गाउँपालिकाको वडा नं. ८ मा सञ्चालन गरिरहेको छ । जसबाट टीकापुरका ११, भजनीका २८, घोडाघोडीका ४७, गौरीगङ्गाका ६ र कैलारी गाउँपालिकाका ३ गरी जम्मा ९५ विद्यालयबाट ९५ जना स्वास्थ्य शिक्षकहरूको सहभागिता रहेको थियो ।
