कप्तान रोहित शर्माको महत्वपूर्ण इनिङ्सको आधारमा भारतले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । पानीले भिजेको मैदानका कारण दुई घण्टा ढिलो गरी सुरु भएको खेल ८ ओभर छोट्टयाएको थियो । अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले २० बलमा ४३ रन बनाए । जवाफमा भारतले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । रोहितले २० बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४६ रन बनाए । टीम इन्डियाले सन् २०१७ पछि पहिलो पटक अष्ट्रेलियालाई भारतीय भूमिमा हराएको हो ।
योसँगै ८औं ओभरको पहिलो दुई बलमा छक्का र चौका प्रहार गर्दै भारतलाई अन्तिम रेखामा पुर्याएका दिनेश कार्तिकले दुई बलमा १० रन बनाएर अविजित रहे । यो जितसँगै भारतीय टोलीले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा अस्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।
