काठमाडौँ – संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संबिधानमा ब्यवस्था छ । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फिर्ता गर्नुभएको थियो । तर संसद्ले राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै दोस्रो पटक दुबै सदनबाट पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।
