काठमाडौं: नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाँदैछ। नोभेम्बर १३ देखि १९ सम्म नेपालले भारतका तीन घरेलु टिमसँग टी–२० मैत्रीपूर्ण खेलहरूको श्रृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै भ्रमणका सबै तयारी पूरा भएको र यसका लागि १५ सदस्यीय टोली चयन गरिएको जनाएको छ।
कार्यतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर १३ मा राजस्थानसँग, दोस्रो खेल १४ मा उत्तराखण्डसँग र तेस्रो खेल १५ मा बंगालसँग खेल्नेछ। सोही तीन टिमसँग क्रमशः १७, १८ र १९ नोभेम्बरमा दोस्रोपटक भिड्ने कार्यक्रम छ। सबै खेल देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछ।

आगामी जनवरीमा घरेलु मैदानमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप यो भ्रमणलाई निकै महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
नेपालको १५ सदस्यीय टोली :
इन्दु बर्मा (कप्तान), कविता कुँवर, सना प्रविण, रुबिना क्षेत्री, अलिशा यादव, ईश्वरी बिष्ट, रोमा थापा, अश्मिना कर्मचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी।
