काठमाडौँ । नेपाल संवत ११४४ मंगलबारदेखि सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागतमा नेवार समुदायले मंगलबार बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन
आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ। विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ। प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका वाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ। निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन। नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ। यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको छ।
यसका लागि समाजका सबै पक्षको उत्तिकै भूमिका हुन्छ। आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। समाजमा सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गरौँ। यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु।
