काठमाडौँ, गत असार २४ गते आएको भोटेकोशी बाढीले रसुवाको टिमुरेमा रहेको भन्सार यार्डमा थुपारिएका ६८ वटा सवारीसाधन बगाएको पाइएको छ। तीमध्ये ४२ वटा विद्युतीय गाडी रहेको भन्सार कार्यालय रसुवाले जनाएको छ।
रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार, ५ वटा सिनोट्रक ब्रान्डका ट्रक, चिनियाँ कम्पनीका टोयोटा हाइलक्स, रोलर र ट्रिपर समेत बगाएका छन्। बगाइएका सवारीसाधनको पार्टपुर्जा समेत फेला नपरेको बताइएको छ।
१८ वटा मालवाहक सवारी चीनबाट सामान लिएर आएको र भन्सार यार्डमै रोकिएको अवस्थामा बाढीले बगाएको थियो। केही गाडी भन्सार जाँच पास भइसकेका थिए भने केही प्रक्रिया पूरा गर्ने क्रममा थिए।
बाढीले सुक्खा बन्दरगाह निर्माण गरिरहेको चिनियाँ कम्पनीको यार्डसमेत बगाएको छ। करिब ५८ रोपनी क्षेत्रफलमा चीन सरकारले २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा बनाएको यार्ड निर्माण अन्तिम चरणमा पुगेकै बेला बाढीले ध्वस्त पारेको हो।
भन्सार प्रमुख भट्टराईका अनुसार, ११ वटा विद्युतीय गाडी पूर्ण रूपमा नष्ट भएका छन् भने २९ वटा मालवाहक गाडी यार्डमै फसेका छन्। तीमध्ये गुड्न सक्ने केही गाडी माथिल्लो सुरक्षित स्थानमा सारिएको भए पनि अन्य गाडी अझै उद्धार हुन सकेका छैनन्। नेपाल इन्टरमोडल यातायात विकास बोर्डलाई बाटो मर्मत गरी गाडी निकाल्न सक्ने व्यवस्था मिलाइदिन पत्राचार भइसकेको बताइएको छ।
