काठमाडौं , स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्ससँगको खेलमा तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। नेपाली क्रिकेटको इतिहासमा १००औं टी-२० अन्तर्राष्ट्रिय खेलको रुपमा रहेको यस प्रतिस्पर्धा निकै रोमाञ्चक बन्यो, तर अन्त्यमा नेपालको हारले निराशा छायो।
निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १५२ रन बनाउँदै खेल सुपर ओभरमा पुगेको थियो। पहिलो र दोस्रो सुपर ओभर दुबै बराबरीमा सकिएपछि खेल तेस्रो सुपर ओभरसम्म धकेलियो। तेस्रो सुपर ओभरमा भने नेपालले रन नै बनाउन नसक्दा नेदरल्याण्ड्सले पहिलो बलमै छक्का हिर्काउँदै जित दर्ता गर्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए भने कुशल भुर्तेलले ३४ रनको योगदान दिए। अन्तिम ओभरमा सन्दीप लामिछाने र नन्दन यादवको प्रयासले खेल बराबरीमा ल्याए पनि जित सम्भव भएन।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए। ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए।
नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ३५ रन, विक्रमजित सिंहले ३० रन र साकिब जुलफिकरले अविजित २४ रन बनाए। बलिङतर्फ डानियल डोरामले ३ विकेट लिँदा विक्रमजित सिंहले २ विकेट लिए। काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले समान १–१ विकेट लिए।
यस खेलमा नेपालका दुई खेलाडी किरण ठगुन्ना र रुपेश सिंहले अन्तर्राष्ट्रिय टी–२० डेब्यू गरे।
