काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।
विभागले बुधबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो । आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।
