काठमाडौं, सुरक्षा परिषद् बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिएको अभिव्यक्तिपछि इजरायल आक्रामक बनेको छ । इजरायल-गाजा युद्धबारे छलफल गर्न मंगलबार राति न्यूयोर्कमा बसेको सुरक्षा परिषद् बैठकमा राष्ट्रसंघका प्रमुख गुटेरेसले हमासले इजरायलमा गरेको आक्रमणको बदला प्यालेस्टाइनी नागरिकलाई सजाय दिएर औचित्य पुष्टि नहुने बताएका थिए । त्यसपछि इजरायली अधिकारीहरूले संयुक्त राष्ट्रसंघका पदाधिकारीलाई भिसा नदिने बताएका छन् ।
संयुक्त राष्ट्रका महासचिव गुटेरेसले ७ अक्टोबरमा १,४०० भन्दा बढी मानिस मारिएको हमासको आक्रमण ‘खाली ठाउँमा’ नभएको भन्दै इजरायलले ‘५६ वर्षदेखि कब्जा गरिराखेको’ प्यालेस्टाइनीहरूको जमिनमा भएको बताएका थिए । सुरक्षा परिषद् बैठकमा उपस्थित राष्ट्रसंघका लागि इजरायलका राजदूत गिलाड एर्डनले पनि गुटेरेसको राजीनामा माग गर्दै ‘उनी संयुक्त राष्ट्रसंघको नेतृत्व गर्न योग्य नरहेको’ बताएका थिए ।
