काठमाडौँ– विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको जनयुद्धकालीन माओवादीका शीर्ष नेता सम्मिलित बैठकले पछिल्ला दिनमा भइरहेका गतिविधिको सामूहिक प्रतिवाद गर्ने र साझा धारणा सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ जनतामा जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिनुभयो । बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको छ । पत्रकार सम्मेलन अघि संयुक्त अपील समेत जारी गरिनेछ । अन्तरक्रियामा माओवादी घटकका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
