काठमाडौँ , वर्षा र समृद्धिका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज जावलाखेलमा विशेष विधिपूर्वक मनाइँदैछ। यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
ललितपुरको जावलाखेलमा आयोजना हुने भोटो जात्रालाई करिब ८ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनिन्थ्यो। ‘जा’ (भात) र ‘वला’ (छर्ने) शब्द मिलेर बनेको ‘जावलाखेल’ नाम यसै जात्रासँग सम्बन्धित भएको बताइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्तिमदन जोशीका अनुसार, भोटो जात्रा सुरु भएको यकिन मिति अहिलेसम्म अज्ञात भए पनि रातो मच्छेन्द्रनाथको यात्रा करिब १३०० वर्ष पुरानो भएको जनविश्वास छ।
