काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको हक–हितका लागि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमै प्रश्न उठाउँदै वैदेशिक रोजगारीमा रहेका नागरिकहरूको श्रमको सम्मान नगरेको धारणा राखे । उनले भने, “आज पनि हाम्रो देशको अर्थतन्त्र विदेशबाट पठाइएको रेमिटेन्सले चलिरहेको छ, तर त्यो श्रमलाई राज्यले सम्मान गर्न सकेको छैन ।”
“जहाँ गएपनि नेपाली नागरिक मर्नुपर्ने अवस्था कहिलेसम्म?” भन्दै उनले सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद शाहीले वैदेशिक रोजगार प्रणालीमा सुधार ल्याउन र पीडित नागरिकको सुरक्षा तथा सम्मान सुनिश्चित गर्न सरकारलाई तत्काल जिम्मेवारी वहन गर्न आग्रह गरे ।
