काठमाडौं , भारतले पाकिस्तानमा सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’पछि भारत–पाकिस्तानबीचको सम्बन्ध एकपटक फेरि युद्धको संघारमा पुगेको छ । मंगलबार राति भारतीय सेनाले पाकिस्तान र पाकिस्तानद्वारा नियन्त्रणमा रहेको जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारमाथि मिसाइल आक्रमण गरेको हो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार, यो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ रहेको बताइएको छ । मन्त्रालयले स्पष्ट पारेको छ कि कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई लक्ष्य बनाइएको छैन । तर पाकिस्तानले भने भारतको आक्रमण ‘सार्वभौमिकतामाथिको खुला हमला’ भएको भन्दै तीव्र विरोध जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्य जारी गर्दै भारतले युद्ध कार्य थोपरेको आरोप लगाएका छन् । उनले भने, “पाकिस्तानलाई यस प्रकारको आक्रमणको कडा जवाफ दिने पूर्ण अधिकार छ र कडा प्रतिक्रिया दिइँदैछ।”
पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ दुवै माध्यमबाट जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
