राष्ट्रपति पौडेलले नेपाली जनताले लामो संघर्ष र बलिदानपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको उल्लेख गर्दै यो व्यवस्था नागरिककै हितमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले जनताको अधिकारको रक्षा गर्न सबै तहका सरकारहरू उत्तरदायी बन्नुपर्नेमा जोड दिँदै भ्रष्टाचार तथा कुशासनविरुद्ध नागरिक सतर्क रहनुपर्ने बताउनुभयो।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँले शासन व्यवस्थामा बसेर गलत गर्ने जो–कोहीलाई कानुनी कारबाही गर्न नागरिक स्वयं सचेत रहनुपर्ने उल्लेख गर्दै लोकतन्त्रको मजबूतीका लागि सबै पक्षको इमानदारिता आवश्यक रहेको धारणा राख्नुभयो।
