काठमाडौं – लगातार ६ कारोबार दिन घटेको नेपालको सेयर बजार सोमबार भने उकालो लागेको छ। बजारको परिसूचक नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) ले बढेर २६४५ अंकमा पुगेको छ। कारोबार सुरु भएलगत्तै केही गिरावट देखिएको बजार ११:१९ बजे २५९३ अंकसम्म झरेको थियो। तर, त्यसपछि बजारले समातेको बढ्दो लय अन्तिमसम्म कायम रह्यो।
चैत ३ गतेदेखि लगातार ६ दिन ओरालो लागेको बजार यसअघि फागुन १९ गतेदेखि घट्न थालेको थियो। फागुन २८ मा एक दिन सुधार भएको बजार पुनः घट्ने क्रममा थियो। सोमबारको वृद्धिले लगानीकर्ताहरूमा केही राहत थपिएको छ।
