काठमाडौँ । सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरे पनि सामाजिक तथा सांस्कृतिक विभेद अझै कायम रहेको बताएका छन्। ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा जारी शुभकामना सन्देशमा उहाँले महिलामाथि हुने पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा तथा सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्याहरू हटाउनुपर्नेमा जोड दिनुभएको छ।
सभामुख घिमिरेले “अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस्” भन्ने साझा लक्ष्य स्थापित गर्नुपर्ने बताउँदै महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार महिलाले सामना गरेका चुनौतीहरूको स्मरण गर्दै उनीहरूको योगदानलाई उजागर गर्नु आजको आवश्यकता हो।
नेपालको महिला आन्दोलनबारे बोल्दै उहाँले “एक शताब्दीभन्दा लामो संघर्षपछि महिलाले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छन्, राज्यका विभिन्न तहमा आफ्नो उपस्थिति बढाएका छन्, र महिला अधिकार राजनीतिक दलहरूको एजेन्डामा परेका छन्” भन्नुभयो।
संविधानले संघीय, प्रदेश तथा स्थानीय तहमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको बताउँदै उहाँले कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याउनुभयो। महिला सशक्तिकरणको दिशा सुधार गर्न कानुनी व्यवस्था मात्रै पर्याप्त छैन, सामाजिक रूपान्तरणसमेत जरुरी छ भन्ने उहाँको धारणा रहेको छ।
