काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकार प्रदान गरेको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताउनुभएको छ ।
१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र केवल शासन व्यवस्था मात्र नभई नैतिकता, सुशासन र जनउत्तरदायित्वमा आधारित जीवन पद्धति पनि भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथिति नै मुलुकका सबैभन्दा ठूला शत्रु भएको बताउँदै सुशासन, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र जनउत्तरदायी शासनमार्फत नागरिकमा आशा जगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र, राजनीतिक निष्ठा र नेतृत्व शैलीमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सबै राजनीतिक दल, सरकार र राज्य संयन्त्रलाई परिणाममुखी र जनमुखी बन्न आग्रह गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिगण,संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरूको सहभागिता थियो ।
