काठमाडौं, १४ असोज २०८२ , गृह मन्त्रालयमा आज गृह मन्त्री ओम प्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत चेन् साँगबीच शिष्टाचार भेट सम्पन्न भयो।
भेटका क्रममा मन्त्री अर्यालले ‘एक चीन नीति’ (One-China Policy) प्रति नेपालको दृढ र अविचलित प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालले चीनको सार्वभौमिकता, एकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनै पनि गतिविधि आफ्नो भूमिमा गर्न नदिने उल्लेख गर्नुभयो।
मन्त्री अर्यालले पञ्चशीलका पाँच सिद्धान्तहरू (Five Principles of Peaceful Coexistence) र ७० वर्ष लामो कूटनीतिक सम्बन्धमा आधारित आपसी मित्रता र विश्वासको सम्बन्धको प्रशंसा गर्दै व्यापार, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, प्रविधि स्थानान्तरण र पर्यटन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न प्रतिबद्धता जनाउनु भयो।
बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गतका प्राथमिक परियोजनाहरूलाई अघि बढाउने विषयमा पनि छलफल भयो।
