राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफूले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा बोल्दैन भन्ने आरोपलाई खण्डन गरेको छ। पार्टीले सार्वजनिक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतामा निरन्तर अडानमा रहेको स्पष्ट पारेको हो।
रास्वपाले संविधान, सुगौली सन्धि सन् १८१६० र त्यसपछिका ऐतिहासिक सन्धिसम्झौताहरूको आधारमा उक्त क्षेत्र नेपालकै अविभाज्य अंश भएको बारम्बार उठाएको भन्दै आरोप निराधार भएको टिप्पणी गरेको छ। “हामी संसददेखि सडकसम्म निरन्तर आवाज उठाइरहेका छौँ, तर सरकारको मौनता र उदासीनताले सन्देह सिर्जना गरेको हो,” विज्ञप्तिमा भनिएको छ।
पार्टीका अनुसार प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सीमा सम्बन्धी विषय दृढतापूर्वक उठाउनुपर्नेमा जोड दिइएको छ। “रास्वपा कहिल्यै मौन रहँदैन, बरु सरकारले जिम्मेवारीपूर्ण ढङ्गले प्रस्तुत हुनुपर्ने हाम्रो माग हो,” पार्टीले स्पष्ट पारेको छ।
रास्वपाले राष्ट्रियताको मुद्दामा आफ्नो नीतिगत स्पष्टता कायम रहेको बताउँदै, कुनै पनि भ्रम वा प्रचारले जनतालाई भुलाउन नसक्ने दृढता प्रकट गरेको छ।
