२८ साउन, काठमाडौं । समसामयिक चेलीहरूको आँसु र पीडा समेटिएको तीज गीत बजारमा सार्वजनिक भएको छ, “दुखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइन…” बाट सुरु हुने यो गीत एउटा यथार्थ कथा हो, जसमा न्यायको नाममा गरिएको अन्याय, समाजको संवेदनशील घाउ र चेलीहरूको अपमानको कथा पोखिएको छ। अदालतको ढोका ढक्ढक्याउँदा पनि न्याय नपाउने हजारौँ छोरीहरूको प्रतिनिधित्व गर्ने यस गीतले बर्तमान न्यायालयमा भएको विकृति, न्यायको खरिद–बिक्री र अपराधीको संरक्षणको तीतो सत्यलाई बेवाक शैलीमा उजागर गरेको छ
यो गीतमा निर्मला पन्तजस्ता अनेकौँ चेलीहरूको पीडामा प्रतिध्वनित छ जसले न त आत्मसम्मान जोगाउन सकिन्, न त न्याय पाउन। पीडाले “म त जिउदै मरे आमा…” भन्ने चीत्कारलाई स्वर दिएको छ। न्याय पाउन नसकेर आत्महत्याको डिलमा पुगेका चेलीहरूको कथालाई यो गीतले कलात्मक तर बलियो स्वरमा संसारसमक्ष पस्किएको छ।
यस गीतका शब्द रचनाकार युवानेत्री, नेपाली लेखक संघको केन्द्रीय सदस्य, समसामयिक विषयमा धारिलो कलम चलाउँदै आएकी, सिन्धुली जिल्ला भूमि आयोगकि सदस्य इन्दिरा निरौला जसले न्यायका लागि कलमलाई अस्त्र बनाउदै यो गितको सिर्जना गरेकी छिन।पीडामा डुबेका हजारौँ चेलीहरूको साझा स्वर यो मुलुकका लाखौंलाख छोरीहरुको प्रतिनिधित्व गर्छ।
लयमा साथ दिएका छन् गायन क्षेत्रका “एक्ला बादशाह” बिमल राज क्षेत्री, जसको गहिरो लयमा आधारित यो गीतलाई जीवन्त बनाएको छ। साथमा उदयमान स्वरसम्राज्ञी समीक्षा अधिकारीको मिठासपूर्ण स्वरले गीतलाई भावुक र मोहक बनाएको छ।
यो तीज गीत मनोरञ्जन मात्र नभई यो आन्दोलनको स्वर हो, पीडितको चित्कार हो, र परिवर्तनको माग हो। सुन्ने जो कोहीलाई न्याय, समानता र संवेदनशीलताको प्रश्नमा सोच्न बाध्य पार्ने यो सिर्जनाले तिजको सांस्कृतिक सौन्दर्यभित्र लुकेको सामाजिक विद्रोहलाई उजागर गरेको छ।
