काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको उनले आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए। ‘केही चीज गम्भीर लागेको छ। यो सामान्य छैन। दुई युवाको जस्तो परिवेशमा जसरी हत्या गरिएको छ। इपीएसमा जे–जस्ता गतिविधि भएका छन्,’ प्रधानमन्त्रीले भने, ‘गाडी जलाउने गतिविधि छ। चिज त्यस्तो छैन जस्तो देखिएको छ।’
प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपर्थ्यो भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए। यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनले स्पष्ट गरे।
आफूले उक्त घटनालाई गम्भिर रूपमा लिएर उच्चस्तरीय छानविन आयोग बनाइएको बताए। ‘मन्त्रीलाई पनि भित्रै जलाउनुपर्थ्यो, छोडेछन् भन्ने के भाष्य हो?’, उनले प्रश्न गरे।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको बिमति नरहेको बताए। जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो।
