काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।
अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०३ डलरमा कारोबार भइरहेको छ। गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रति ब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २० डलर कम भइसकेको छ।
यसैअनुसार आइओसीले सोमबार नेपाललाई नयाँ मूल्य पठाएको छ। निगमका अनुसार सोमबार प्राप्त मूल्य सूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले अहिलेसम्म दुई पटक मूल्य घटाएर पठाएको छ। १५ दिन अघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यो समयमा भारतबाट मूल्य घटेर आएपनि आयल निगमले भने मूल्य घटाएको थिएन।
यो पटक पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । निगमका अनुसार हाल निगमले आइओसीलाई १४ अर्ब रूपैयाँ तिर्न बाँकी छ।
